Rule 111
काज तथा दैनिक भ्रमण भत्ता
(१) विद्यालय वा अध्यापन सम्बन्धी कामको लागि निर्देशनालय वा जिल्ला शिक्षा कार्यालयको आदेशानुसार कुनै सभा, सम्मेलन वा सेमिनारमा खटिने शिक्षकले सोही आदेशमा तोकिएको अवधिसम्मको लागि काज पाउनेछ ।
(२) विद्यालयको कामको लागि शिक्षकले प्रधानाध्यापकको र प्रधानाध्यापकले व्यवस्थापन समितिको अध्यक्षको अनुमति लिई बढीमा एक हप्तासम्म काजमा जान सक्नेछ ।
(३) सरुवा भएको शिक्षकलाई सरुवा भएको विद्यालयमा हाजिर हुन जाँदा मन्त्रालयले तोकिदिए बमोजिमको रकम दैनिक तथा भ्रमण भत्ता वापतको रकम रमाना दिने विद्यालयले आफ्नोे कोषबाट दिनु पर्नेछ ।
तर आफ्नो स्वेच्छाले सरुवा भई जाने शिक्षकले यस उपनियम बमोजिम दैनिक तथा भ्रमण भत्ता बापतको रकम पाउने छैन ।
(४) शिक्षक युनियनको केन्द्रीय समितिको पदाधिकारीमा रहेका दुईजना शिक्षकलाई सो युनियनको सिफारिसमा त्यस्तो युनियनमा रही काम गर्नको लागि एक पटकमा एक वर्षमा नबढाई बढीमा तीन वर्षसम्म विभागले काज स्वीकृत गर्न सक्नेछ ।
(५) कुनै विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी बढी भएमा विभागले त्यस्तो दरबन्दीलाई सोही जिल्लाको जिल्ला शिक्षा समितिको पूल दरबन्दीमा राखी विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कम रहेको जुनसुकै विद्यालयमा काजमा खटाउन सक्नेछ ।